काठमाडौं । नेकपा माओवादी केन्द्रको महासचिवमा देव गुरुङलाई ल्याउने तयारी भएको छ ।
जनार्दन शर्मा र वर्षमान पुनले महासचिवमा दाबी नछोडेपछि अध्यक्ष पुष्पकमल दाहालले तेस्रो व्यक्ति गुरुङलाई अगाडि सार्नुभएको हो ।
माओवादी केन्द्रले बिहीबार पदाधिकारी टुङ्गो लगाउँदैछ । यस्तै स्थायी कमिटी र पोलिटव्यूरोमा रहनेको नाम विहीवार नै घोषणा गर्ने तयारी छ ।
बुधबारको बैठकमा अध्यक्ष दाहालले बिहीबार पदाधिकारीको नाम लिएर आउने बताउनुभएको थियो । सोही अनुसार विहीवारको बैठकमा उहाँले नाम पढेर सुनाउनुहुनेछ ।
वरिष्ठताका आधारमा गुरुङलाई महासचिव बनाएर शर्मा र पुनलाई उपमहासचिव बनाउने सोचमा अध्यक्ष दाहाल रहेको खुमलटार स्रोतले जानकारी दिएको छ । त्यसो त महासचिवमा पम्फा भुसाल र हरिबोल गजुरेलले पनि दाबी गरिरहनुभएको छ । तर दाहालले उहाँहरु दुबैलाई उपाध्यक्ष बनाउने तयारी गर्नुभएको छ । गजुरेल यसअघि कोषाध्यक्ष बन्नुभएको छ ।
माओवादीको विधानमा अध्यक्ष १, वरिष्ठ उपाध्यक्ष १, उपाध्यक्ष, महासचिव १, उपमहासचिवहरु, सचिवहरु, कोषाध्यक्ष र सदस्य रहने व्यवस्था छ । वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ र उपाध्यक्षमा कृष्णबहादुर महराको नाम यसअघि नै तय भैसकेको छ ।
उपाध्यक्ष, उपमहासचिव तथा सचिवहरुको संख्या किटान गरिएको छैन । शर्मा र पुनसँगै गिरीराजमणी पोखरेल पनि उपमहासचिव बन्ने बताइएको छ । पुन र पोखरेल यसअघि सचिव भैसक्नुभएको छ ।
लिलामणी पोख्रेल, मातृका यादव, शक्तिबहादुर बस्नेत, गणेश शाह लगायतलाई सचिव बनाउने दाहालको तयारी छ ।