काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति, पोलिटब्युरो र केन्द्रीय समितिमा रहने सबै नेताको नाम टुंगो लगाएको छ।
बुधबार बसेको माओवादी स्थायी समिति बैठकले पदाधिकारीबाहेक सबै कमिटीमा रहने नेताहरुको नाम टुंगो लगाएको हो ।
बैठकले ४१ जना सदस्य स्थायी समिति सदस्य, १२५ जना पोलिटब्युरो सदस्य, २६ जना वैकल्पिक पोलिटब्युरो सदस्य र ३४१ जना केन्द्रीय समिति सदस्य रहने टुंगो लगाएको आमन्त्रित स्थायी समिति सदस्य पेशल खतिवडाले जानकारी दिनुभयो।
स्थायी समिति बैठकले थप ८ जनालाई केन्द्रीय समितिमा राखेर कुल ३४१ जनाको केन्द्रीय समिति बनाउने निर्णय गरेको उहाँको भनाइ छ । सबै स्थायी समिति, पोलिटब्युरो र केन्द्रीय समितिमा रहेका नेताहरुको नाम बिहीबारको स्थायी समिति बैठकपछि सार्वजनिक गरिने छ ।
यस्तै माओवादी केन्द्रले विहीवार बस्ने स्थायी समिति बैठकबाट पदाधिकारीको पनि टुंगो लगाउने भएको छ । अध्यक्ष दाहालले उपाध्यक्ष,उपमहासचिव,सचिव लगायत कति पदाधिकारी बनाउने भन्ने विषयमा गृहकार्य गर्ने एक नेताले बताए ।
कति संख्याको पदाधिकारी बनाउने भन्ने विषयमा फाइनल नभएकाले को को कुन पदाधिकारीमा भन्ने भन्ने टुंगो नलागेको ती नेताले बताए ।
बैठकपछि सञ्चारकर्मीहरूसँग बोल्दै पार्टीका प्रवक्ता कृष्णबहादुर महराले पनि संगठन सम्बन्धी एजेण्डामा छलफल केन्द्रित भएको बताउनुभयो । उहाँले केन्द्रीय कमिटीपछि स्थायी कमिटीले टुंगो लगाउनुपर्ने कुरा र केन्द्रीय कमिटीमा थप्नुपर्ने सदस्य, पोलिटब्युरोमा थप्नुपर्ने सदस्य र पदाधिकारीका बारेमा छलफल भएको बताउनुभयो ।