काठमाडौं । नेपालमा कोरोना भाइरसविरुद्धको १० लाख डोज भन्दा बढी खोप खेर जाने अवस्थामा पुगेको छ ।
सरकारको व्यवस्थापकीय कमजोरीका कारण ठूलो मात्रामा कोरोना भाइरसविरुद्धको खोप खेर जाने अवस्थामा पुगेको हो ।
स्वास्थ्य सेवा विभाग अन्तर्गत आपूर्ति व्यवस्थापन महाशाखाको तथ्यांक अनुसार साउनको पहिलो साता कोभिसिल्डको १० लाख ७९ मात्रा खोपको म्याद गुज्रिदैछ ।
सरकारले कोभ्याक्स सुविधामार्फत मंसिरमा १८ लाख ७१ हजार र पुसमा १८ लाख ७० हजार कोभिसिल्ड खोप प्राप्त गरेको थियो । समयमा लगाउन नसक्दा सोही खोपमध्येको १० लाख भन्दा बढी खोप म्याद गुज्रिएर खेर जान लागेको हो ।
ती खोपको अवधि अब करिब १५ दिन भए पनि खोप अभियान सुस्त भएकाले धेरैजसो खोप प्रयोगमा नआउने निश्चित जस्तै छ ।
साउनको पहिलो हप्तासम्म ती खोप प्रयोग गरिसक्न दैनिक ७१ हजार २६६ जनाले खोप लगाउनुपर्छ । जबकि अहिले कोभिसिल्ड खोप लगाउनेको दैनिक संख्या दुईदेखि तीन हजारसम्म मात्र छ । खोप लगाउने दर घटिरहेकाले अब यो खोप खपत हुनेमा महाशाखाका अधिकारीहरु नै विश्वस्त छैनन् ।
स्थानीय तहका अन्य धेरै कार्यक्रम भएकाले कोरोना खोपलाई मात्रै प्राथमिकतामा राख्न नसकिने बताउँदै आएको ती अधिकारीले बताए । खोप अभियानका लागि स्थानीय तहका कर्मचारी संवेदनशील नभएको उनको भनाइ छ ।
हाल देशका अधिकांश क्षेत्रमा कोरोना भाइरसको खोप स्थानीय तहमार्फत लगाइएको छ । धेरैले पहिलो र दोस्रो चरणको खोप लगाएको र बुस्टरमा कोभिशिल्ड भन्दा अन्य खोप नै रोजाइमा रहेकाले यसको खपत हुन नसकेको हो । हाल अधिकांश मानिसले बुस्टर डोजका रुपमा फाइजर खोप लगाइरहेका छन् । हालसम्म १८ बर्षभन्दा माथिका ३२ प्रतिशत मानिसले बुस्टर डोज पाएका छन् ।
विभागको तथ्यांक अनुसार मोडेर्नाको पनि ६७ हजार वटा खोप अर्थात ६ हजार ७०० बढी भाइल खोप पनि खेर गएको छ ।
पालिकाको स्वास्थ्यसम्बन्धी अरु कार्यक्रम ओझेलमा परेकाले अहिले कोरोना भाइरसविरुद्धको खोप अभियानलाई प्राथमिकतामा राख्न नसक्ने स्थानीय तहका स्वास्थ्य शाखाका कर्मचारीहरु बताउछन् ।
एक–दुई महिनामै म्याद सकिने खालका खोपलाई व्यवस्थापन गर्न नसक्दा कराडौं रकम खेर गएको ती कर्मचारी बताउछन् ।
तर स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन महाशाखाका प्रमुख डा रुद्र मरासिनी भने सर्वसाधारणले खोप लगाउन नआउँदा खेर जाने अवस्थामा पुगेको बताउनुहुन्छ ।
खोपको सदुपयोग गर्नमा विभागका नेतृत्वले पनि कुनै गम्भीरता नदेखाएको जनस्वास्थ्यविज्ञ डा बाबुराम मरासिनीको भनाइ छ ।
म्याद सकिन लागेको भए घरघरमा पुगेर पनि खोप लगाउनुपर्ने उहाँ बताउनुहुन्छ । अनुदानको खोप ठूलो मात्रामा खेर जाने अवस्थामा पुर्याउँदा भोलिका दिनमा नेपालको ठूलो बदनाम हुने उहाँको भनाइ छ ।