काठमाडौं । मनाङको मनाङ ङिस्याङ गाउँपालिकामा उम्मेदवार बनेका यामयाङ टासीलाई आफूबाहेक कसैले पत्याएनन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उम्मेदवार बनेका टासीले एक मत मात्र पाए ।
जहाँ एमालेका कान्छा घले निर्वाचित भएका थिए । उनले ८६१ मत पाएका थिए । तीन हजार ५ सय ३५ मतदाता रहेको ङिस्याङमा एक हजार पाँच सय ७४ मत खसेको थियो । तर, टासीले एक मत मात्र पाए।
धादिङको ज्वालामुखी गाउँपालिकाको वडा नम्बर २ को वडाध्यक्षका लागि उम्मेदवारी दिएका एकीकृत समाजवादीका उम्मेदवार दिवश कार्कीले पनि एक मत मात्रै पाए । २९ वर्षीय कार्कीले आफ्नो मात्र भोट पाएका हुन् ।
वडाध्यक्षमा ६२० मत ल्याएर कांग्रेसका राजु लोप्पा विजयी भए । उनका प्रतिस्पर्धी माओवादी केन्द्रका अर्जुन शाही ठकुरीले ६१७ मत पाए । तीन मतको अन्तरले लोप्पा विजयी भएका थिए । यहाँ एक हजार ७७४ मत खसेको थियो ।
धादिङ र मनाङका उम्मेदवारले मात्र नभएर अन्तिम मतपरिणाम सार्वजनिक भइसकेका कतिपय स्थानीय तहका कतिपय उम्मेदवारले एक मत मात्र पाइरहेका छन् । यस्ता उम्मेदवारको धरौटीसमेत जफत हुनेछ ।
नगरपालिका वा गाउँपालिकाको प्रमुख पदमा उम्मेदवारी दर्ताका लागि १५ सय रुपैयाँ धरौटी राख्नुपर्छ । त्यसमा महिला, दलित तथा अल्पसंख्यक समुदायका वा विपन्न उम्मेदवारलाई आधा छुट हुने व्यवस्था छ ।
वडाध्यक्षका लागि एक हजार र सदस्यका लागि पाँच सय रुपैयाँ धरौटी तिर्नुपर्छ । उम्मेदवारले सदर मतको १० प्रतिशतभन्दा कम मत ल्याएको अवस्थामा त्यस्तो धरौटी जफत हुने व्यवस्था छ । जफत भएको रकम सञ्चित कोषमा जम्मा हुनुपर्ने नियम छ ।